अपाङ्गता भएका व्यक्तिहरूलाई २ दिने नेतृत्व विकास तालिम प्रदान गरियो
अपाङ्गता भएका व्यक्तिहरूलाई २ दिने नेतृत्व विकास तालिम प्रदान गरियो
    • शर्मिला विश्वकर्मा

    • १४ श्रावण २०८१, सोमबार

ललितपुर दृष्टिविहीन सहयोग केन्द्र नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा नेतृत्व विकास विषयक २ दिने आवासीय प्रशिक्षण ललितपुरको महालक्ष्मी नगरपालिका ४ मा सम्पन्न गरेको छ । डमरु बजाएर यस कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले सबै नागरिकहरूमा क्षमता विकास हुन जरुरी रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो अधिकारका विषयमा जानकारी लिन र उक्त अधिकारको उपयोग गर्नका लागि उनीहरूको क्षमता तथा नेतृत्व विकास हुनु पर्ने बताउनु भयो ।

साथै उहाँले आयोजक संस्था दृष्टिविहीन सहयोग केन्द्र नेपालले गरेको कामको प्रशंसा गर्दै यस संस्थाले १ वर्ष भित्रमा गरेका कार्यक्रमहरूको कार्य योजना पेस गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्नु भयो । आयोजक संस्था दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुवाल / क्षेत्रीले यस संस्था वि.स.२०६९ मा स्थापना भएको र दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, उनीहरूको मानव अधिकार, नेतृत्व तथा क्षमता विकास लगायतका विषयमा काम गर्दै आएको बताउनु भयो । त्यसै गरी नेपाल सरकारले निजामती सेवामा अपाङ्गता भएका व्यक्तिहरूलाई ५ प्रतिशत आरक्षणको व्यवस्था गरेकोमा अपाङ्गताको विविधता अनुसार सबै अपाङ्गता भएका व्यक्तिहरूलाई एउटै बास्केटमा राख्न नहुने, निजामती सेवामा सुधार हुनु पर्ने भनेर व्यवस्था गरेको संस्थाले वि.स.२०७० सालमा सर्वोच्च अदालतमा रिट दिएकोमा यसै वर्ष सर्वोच्चले फैसला त गरेको तर लागु नभएको भन्दै यस फैसलालाई लागु गर्न संस्थागत रूपमा प्रयासरत रहेको बताउनु भयो । यसै क्रममा उहाँले नेतृत्वकर्ताहरुले सही कुराहरूको वकालत गर्नु पर्ने र सबै नेतृत्वकर्ताहरूमा कानुन सम्बन्धी आधारभूत ज्ञान हुनु पर्ने कुरामा जोड दिनु भयो ।

यस २ दिने प्रशिक्षण कार्यक्रममा आयोजक संस्था दृष्टिविहीन सहयोग केन्द्र नेपालका महासचिव उपेन्द्र श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विकास गर्ने, अपाङ्गता अधिकारको जानकारी गराउँदै यसको उपयोग गर्ने बारेमा जानकारी गराउने उद्देश्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई यो नेतृत्व विकास तालिम प्रदान गरिएको बताउनु भयो ।

साथै उहाँले यस संस्थाले विगतका दिनमा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अधिकार सम्बन्धी आवश्यक सामाग्रीहरू वितरण गरेको, पर्वत, गोरखा, लमजुङ र सिन्धुपाल्चोक जिल्लामा दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरू पढ्ने प्रत्येक २ वटा विद्यालयमा २ थान कम्यूटरका साथै उनीहरूका लागि आवश्यक सामाग्रीहरू वितरण गरिएको र आवश्ताको आधारमा आगामी दिनमा पनि वितरण गर्ने बताउनु भयो ।

कार्यक्रममा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले यस संस्थाले सञ्चालन गरेको कामको सराहना गर्दै आगामी दिनमा संस्था तथा अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व विकासका लागि वृहत् रूपमा काम गर्नु पर्ने बताउनु भयो । बाग्मती प्रदेशका विभिन्न जिल्लाका ३० जना अपाङ्गता भएका व्यक्तिहरू प्रशिक्षार्थीको रूपमा रहेका थिए भने उनीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको क्षेत्रमा नेतृत्व विकास विषयक २ दिने आवासीय प्रशिक्षणमा सबैलाई प्रमाणपत्र प्रदान गरिएको छ । साथै यस तालिमलाई सम्पन्न गर्नका लागि विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित