सरकारी निवासमा पार्टीको बैठक नगर्ने केपी ओलीको घोषणा
सरकारी निवासमा पार्टीको बैठक नगर्ने केपी ओलीको घोषणा
    • बेल संचार

    • १७ श्रावण २०८१, बिहीबार

काठमाडौं

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका हुन् ।

मनोहरा खोलामा आएको बाढीको डुबानले पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण अन्यत्र राखिएको उनको भनाइ छ । ‘सामाजिक सञ्जालमार्फत् तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानलेपार्टी कार्यालयमा बैठक बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !

राजधानीको एक होटलमा आज एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित