काठमाडौं
काभा महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई हराएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको रोमाञ्चक खेलमा नेपालले भारतलाई ३-२ सेटले पराजित गरेको हो ।
नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हराएको हो ।
यसअघि सन् २०१९ मा सागको फाइनलमा नेपालले भारतसँग दशरथ रंगशालामा नै उत्कृष्ट प्रदर्शन गरेको थियो । तर पनि नेपाल पराजित बन्न पुगेको थियो । उक्त खेलमा नेपाल ३–२ सेटले पराजित बनेको थियो ।
लिगमा नेपाल र भारतसहित इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।
यता भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजे इरानसँग खेल्ने छ ।
त्यस्तै लिगचरणको अन्तिम खेल भने नेपालले सोमबार साँझ ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
यसैबीच, नेपाली खेलाडीलाई हौसला दिनका लागि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राईलगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुगेका थिए ।