काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रूपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गरेका छन् ।
उनले ललितपुरको जावलाखेलमा आज अपरान्ह ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गरेका हुन् ।
राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरेका हुन् ।
उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए ।हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए ।
उनले जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए ।