सुनसरीको श्रीलंका टापुमा पानी नपर्दा रोपोमै सुक्न थाले धान
सुनसरीको श्रीलंका टापुमा पानी नपर्दा रोपोमै सुक्न थाले धान
    • बेल संचार

    • २१ श्रावण २०८१, सोमबार

धरान ।

सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए।

उनले भने, ‘केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।’

गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरुको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरु बताउँछन् । छ वर्ष अघिसम्म श्रीलङ्का टप्पुका किसानले धान खेती गर्दैन थिए ।

चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपथ्यो। बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए। तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन्।

यहाँका अधिकांश कृषकले कोशीपारिका बजार भागलपुर, रामपुर र चक्रघट्टीबाट ल्याएर धानको बियाड राखेका थिए । गरैया कृषि सहकारीले पनि १९ बोरा (छ सय ६५ केजी) धानको बीउ कृषकलाई वितरण गरेको सहकारी संस्थाका अध्यक्ष बद्री राईले जानकारी दिए ।

बराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्का टप्पु दुई वटा वडाले छोएको छ । वडा न ९ मा सात सय घरधुरी छन् भने वडा न ६ मा दुई सय घरधुरी छन् । हाल कृषकले यहाँ एक सय बिघाहभन्दा बढी क्षेत्रफलमा धान खेती गरेका छन् ।

‘पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपो सुक्न थालेको छ”, कृषक रामभुवन राय यादवले भने । कृषि सहकारीले धानबालीका लागि पाँच सय बोरा मल मौज्दात राखेको छ । विगत वर्षमा मलको अभाव भोग्नुपरेकाले यसवर्ष मल मौज्दात गरिए पनि पानी नपरेकाले खपत हुन नसकेको सहकारीले जनाएको छ ।

‘पानी परेपछि धानबालीमा मल हाल्नुपर्छ, पानी नपरेकै कारण कृषकले सहकारीबाट मल लगेका छैनन्’, गरैया कृषि सहकारीका कोषाध्यक्ष गोल्छा झाले भने । कृषक पानी पर्ने आशामा बसेको उनको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित