काठमाडाैं।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिन माग गरेको छ । प्रतिपक्षमा पुगेसँगै माओवादीले लेखा समितिको दाबी गरेको हो ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र सांसद माधव सापकोटाले लेखा समितिको सभापति छाड्न माग गरेका हुन् ।
लेखा समितिको नेतृत्वमा अहिले एमाले छ ।‘सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने लोकतान्त्रिक पद्धति पालना गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ शून्य समयमा सचेतक पाण्डेले भने ।
त्यसअघि प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद माधव सापकोटाले लेखा समिति विपक्षी दलको हुने भन्दै नेतृत्व छाड्न आग्रह गरेका थिए ।
‘संसदीय व्यवस्थामा लेखा समितिको नेतृत्व विपक्षी दलको हुन्छ, तत्काल प्रतिपक्षलाई दिइयोस्,’ सापकोटाले भने ।
लेखा समितिको सभापति विपक्षी दललाई दिने नेपालको संसदीय परम्परा छ । माओवादी–कांग्रेसको सरकार रहेका बेला तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई लेखाको नेतृत्व दिइएको थियो ।
एमाले सांसद ऋषिकेश पोखरेल अहिले समितिको सभापति छन् ।
नेपाल विद्युत् प्राधिकरणको ट्रंक लाइन र डेडिकेडेड फिडरसम्बन्धी विवाद लेखा समितिमा बल्झिएको छ ।
त्यही बेला माओवादीले लेखा समितिको सभापतिमा दाबी गरेको छ ।