म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानीको सुविधा
म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानीको सुविधा
    • बेल संचार

    • २३ श्रावण २०८१, बुधबार

म्याग्दी ।

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत् ६ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ ।

कार्यालयका प्रमुख झलकमोहन ओझाका अनुसार २८ हजार आठ सय ३० परिवार रहेको म्याग्दीका २७ हजार तीन सय ८८ घरमा निजी धारामार्फत् खानेपानी वितरण भएको छ भने १९ हजार चार सय १९ हेक्टर खेतीयोग्य जमिनमध्ये एक हजार पाँच सय ९५ मा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।कार्यालयमार्फत् आव २०८०/८१ मा निर्माण सम्पन्न भएका १७ वटा खानेपानी आयोजनामार्फत सात सय २७ घरमा मिटरसहित जडान गरेर खानेपानी वितरण भएको उनले बताए ।

यसैगरी गत आवमा निर्माण सम्पन्न भएका २१ वटा सिँचाइ आयोजनामार्फत् ८९ हेक्टर थप जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । कार्यालयले गत आवमा १७ करोड ६५ लाख १० हजार रुपैयाँ पँजीगत खर्च गरेको जनाएको छ ।

गत आवमा म्याग्दी, रघुगङ्गा र कालीगण्डकी नदीको कटान तथा बाढी नियन्त्रण गर्न १० स्थानमा पक्की पर्खाल निर्माण गरिएको थियो । नदी नियन्त्रण आयोजनाबाट निर्माण भएका ३८ मिटर पक्की तटबन्ध र आठ सय ७० मिटर लामो पर्खालबाट एक हजार तीन सय ९५ परिवार लाभान्वित भएका छन् । सात हेक्टर जग्गा पनि संरक्षण भएको छ ।

दरबाङ, सुर्केमेला, उपल्लो तातोपानी बजार, राक्से, सिमलचौर, ताराखेत, बावियाचौर, पिपलबोट, सिमबगर, कालीपुलमा उपभोक्ता समितिमार्फत् नदी नियन्त्रण योजना सञ्चालन भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित