भदौ ७ गतेसम्म स्थगित नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक
भदौ ७ गतेसम्म स्थगित नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक
    • बेल संचार

    • २८ श्रावण २०८१, सोमबार

काठमाडाैं ।

नेपाली कांग्रेसले जारी केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

२३ साउनदेखि जारी बैठक सोमबार पनि नसकिएपछि कांग्रेसले अर्को बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरेको हो ।

२३ गतेदेखि प्रारम्भ भएको बैठकमा महासमितिका प्रस्तावमा छलफल, सांगठनिक अभियान, भ्रातृ संस्थाको अधिवेशनसहितका विभिन्न ११ वटा एजेन्डामा केन्द्रित भइ कांग्रेस बैठक चल्दै आएको छ ।

महासमितिबाट पारित भए पनि केन्द्रीय समितिले सुझावसहित पारित गर्ने गरी तीनवटा मुख्य प्रस्तावमा छलफल गर्दै आएको थियो ।

तर महामन्त्रीद्वय गगन थापाको सांगठनिक र विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा धेरै नै संशोधन गर्नुपर्ने स्थिति आएको एक नेताले जानकारी दिए ।​

सोमबारको बैठकले स्वर्गीय पूर्व सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीको अवसरमा उनीप्रति श्रद्धा सुमन व्यक्त गरेको छ ।

‘राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म विक्रम संवत् १९९६ श्रावण २८ गते भएको थियो,’ कांग्रेसले भनेको छ, ‘संक्रमणकालिन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा उहाँले निर्वाह गर्नु भएको भूमिका अतुलनीय र अविस्मरणीय छ ।

आज उहाँको जन्म जयन्तीका अवसरमा कार्यसमितिको यो बैठक उहाँप्रति उच्च सम्मान साथ श्रद्धा सुमन अर्पण गर्दछ ।’

सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मीनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आ-आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले बोलेका थिए ।

साताकाे चर्चित
सम्बन्धित