आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाको विजयी शुरूआत
आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाको विजयी शुरूआत
    • बेल संचार

    • ३० श्रावण २०८१, बुधबार

काठमाडाैं । 

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाले विजयी शुरूआत गरेको छ । अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडाविरुद्ध १४ रनको रोमाञ्चक जित निकालेको हो ।

क्यानडाले भने जारी श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले दिएको ३०५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रन मात्र बनाउन सक्यो ।

उसका लागि हर्ष ठाकरले ७७, डिलन हेलिगरले ५६, आरोन जोनसनले ५५, प्रगत सिंहले ४२ र कप्तान निकोलस किर्तनले १४ रन बनाए ।

अमेरिकाका लागि नोस्टुश केन्जिगेले तीन तथा शेडले भ्यान शाल्कविक र जसदीप सिंहले दुई/दुई विकेट लिए ।

त्यसअघि नेदरल्याण्ड्सको हेगस्थित स्पोर्टपार्कमा टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले शतकीय इनिङ खेले । ९५ बलको सामना गरेका उनले सात चौका र पाँच छक्कासहित अविजित १२१ रनबनाए ।

यस्तै, स्मित पटेलले ६३, शायन जहाँगीरले अविजित ५७, स्टिभन टेलरले २७ र आरोन जोन्सले १५ रन बनाए ।

क्यानडाका लागि डिलन हेलिगर, हर्ष ठाकर, सादबिन जाफर र प्रगत सिंहले एक/एक विकेट लिए ।

साताकाे चर्चित
सम्बन्धित