अफ्रिकी मुलुकहरुमा मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
अफ्रिकी मुलुकहरुमा मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
    • बेल संचार

    • ३१ श्रावण २०८१, बिहीबार

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकी मुलुकहरुमा मङ्कीपक्स (एमपक्स)को संक्रमण बढेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

बुधबार बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य निमामकको आपतकालीन कमिटीको बैठकमा सदस्यहरुको सुझावपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ ।

कुनै रोगको संक्रमण तीव्ररुपमा फैलिने जोखिम देखेमा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय कानुन अनुसार आपतकाल घोषणा गर्दछ ।

अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मंगलबार नै यो स्थितिको विश्लेषणपछि स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

अति संक्रामक रोग एमपक्स अफ्रिका महाद्वीपको कंगो गणराज्यबाट सुरु भएको थियो । यसको संक्रमण हाल बुरुण्डी, केन्या, रुवान्डा र युगाण्डासम्म फैलिसकेको छ । यसबाट ५२४ जनाको मृत्यु भइसकेको र १४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको डब्ल्यूएचओले जनाएको छ ।
कसरी सर्छ ?

डब्ल्यूएचओका अनुसार एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ ।

यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । सुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।

घातक र चिन्ताजनक

एमपक्सका मुख्य दुई प्रकार छन्- क्लेड १ र क्लेड २ । सन् २०२२ मा क्लेड-२ प्रकारको संक्रमण फैलिँदा स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । यसपटक क्लेड-१ संक्रमण देखिएको छ ।

यो क्लेड-२ को तुलनामा घातक रहेको वैज्ञानिकहरुले बताएका छन् ।डब्ल्यूएचओले एमपक्सविरुद्ध दुईवटा भ्याक्सिनलाई स्वीकृति दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले एमपक्सको संक्रमण फैलावटको स्थिति चिन्ताजनक रहेको बताएका छन् ।

उनले यसबाट हुने मृत्युदर रोक्न स्वास्थ्य सतर्कताका सटिक र व्यापक अभियान सञ्चालन आवश्यक रहेको बताएका छन् ।

साथै प्रभावित देशका सरकार, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र अन्य साझेदारहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।

डब्ल्यूएचओले त्यसको फैलावट रोक्नका लागि निगरानी, तयारी र कारबाही सम्बन्धी गतिविधि सन्चालन गर्न सुरुमा डेढ करोड डलर आवश्यक पर्ने जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसका अनुसार १४ लाख डलर आपदा कोषमा जम्मा गरिएको छ । कोषमा थप रकम दान गर्न पनि उनले विश्व समुदायलाई अपिल गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित