काठमाडौं
कोटिहोम आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोजिएको भन्दै पशुपतिमा राति तनाब उत्पन्न भएको हो । पशुपतिनाथ मन्दिर परिसरमा गएराति तनाब उत्पन्न भएको छ ।
आफूलाई पक्राउ गर्न गौशाला वृत्तबाट प्रहरी आएको उनले भिडियोमा दाबी गरेका छन् । उनले भड्काउ अभिव्यक्तिसमेत दिएका छन् । प्रहरीले पक्राउ गर्न खोजेको भन्दै विजयकृष्णले फेसबुकमा लाइभ गरेका थिए ।
लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेको लाइभ भिडियोमा देखिन्छ ।
उनीहरूले प्रहरीलाई तथानाम गालीगलाैज गरेका थिए । विजयकृष्णविरूद्ध ठगीकाे अभियाेग छ ।
तर, गौशाला प्रहरीले भने त्यस्तो ठूलो तनाब नभएको बताएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर शेखरकुमार शाहले गलत बुझाइका कारण सामान्य होहल्ला भएको बताए ।
‘त्यस्तो ठूलो तनाब केही भएको होइन । मिस अन्डरस्ट्यान्डिङले सामान्य विवाद भएको हो,’ उनले भने ।
साउन १ गतेबाट शुरू भएको कोटिहोम शुक्रबार सकिएको हो ।