पाल्पा ।
राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५ औं रथजात्रा (खटयात्रा)को अवलोकन गरेका छन् । पत्नी सविता पौडेलसहित मंगलवार पाल्पा आइपुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे ।
साथै उनलाई जनस्तरबाट समेत स्वागत गरिएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलोपटक राष्ट्रप्रमुखका रुपमा पौडेल यहाँ आइपुगेका हुन् ।
जात्राको अवलोकनसँगै राष्ट्रपति पौडेलले भगवती मन्दिरमा पूजा-आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेलले महेन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गरेका थिए ।
राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीनतले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
त्यस्तै राष्ट्रपति पौडेलले पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।
साथै राष्ट्रपति पौडेलले रथ यात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जीतगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ ।