काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियाको काम अघि बढाउने हात नेकपा एमालेको पनि उत्तिकै भएको भन्दै ‘अन्ट सन्ट’ नबोल्न चेतावनी दिएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विभिन्न समय भएका आन्दोलनको उच्च सम्मान भएको बताए ।
२००७ सालको आन्दोलनमा लखन थापा‚ पन्चायतविरूद्धको आन्दोलनमा विरेन राजवंशी कृष्ण कुइकेल लगायत सहिदको सम्मान गरिएको पनि उनले जानकारी दिए ।
न्यायका निम्ति लडिएका आन्दोलनको सम्मान गरिएको भन्दै उनले भने‚‘ऐतिहासिक जनयुद्धमा दिलबहादुर रम्तेलले स्कुलको आगमनमा रगत बगाए । कसका छोराछोरी थिए ? कृष्णसेन इच्छुक को हुनुहुन्थ्यो ?’
जनताको छोराछोरीले लडेको युद्ध जनयुद्ध भएको भन्दै उनले भने‚‘शब्द प्रयोग गर्दा ख्याल गर्न अनुरोध गर्दछु ।अनुरोध स्वीकार गर्ने नगर्ने यहाँको कुरा हो ।’
उनले माओवादी बहस गर्न तयार भएको भन्दै अहिले उठेका प्रश्नहरूलाई विगतका आला घाउ नकोट्याउन र उत्तेजित नपार्न चेतावनी दिए ।
‘हजार वर्षसम्म पनि नेपालमा र संसारभर विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेख्ने छ‚’ उनले भने‚‘यहाँहरूले यो शब्द किन कन्जुसाइ गरेको ? इतिहास त हामीलाई पनि जानकारी छ ।’