बागलुङ ।
उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान बनेको छ । बाटोको दूरावस्था र सुरक्षा चुनौती देखाउँदै व्यवसायीले आफ्ना सवारी साधन बसपार्कमा नराख्दा सुनसान भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मंगलबारमात्रै चालक र सहचालकलाई टीका लगाए बसपार्क उद्घाटन गरेका थिए । बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो ।
व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । ‘बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?’ उनले आश्चर्य प्रकट गर्दै भने, ‘नगरले सुरक्षा दिनुपर्यो नि, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।’
बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । ‘व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुंगो लाग्छ’, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।’