दार्चुलामा आरन पेसा लोप हुँदै
दार्चुलामा आरन पेसा लोप हुँदै
    • बेल संचार

    • २२ भाद्र २०८१, शनिबार

दार्चुला ।

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ । शैल्यशिखर नगरपालिका–६ का पदमे लुहार युवा पुस्ताले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको बताउछन् । “यसबाट आय आर्जन खासै छैन”, उनले भने, “यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन ।”दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन ।

उनीहरुलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन । “सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो”, लुहार भन्छन् । नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएको स्थनीय तेजुवा लुहारले भने । राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै आरन पेसा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने उनको  भनाइ छ ।

पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हुँदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका–३ का फगिर टमाटा बताउँछन् । पछिल्लो समय युवाहरू पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उनको भनाइ छ । दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको टमाटा बताउछन् । औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनको भनाइ छ ।

आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो । विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ । गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनी बताउछन्।

सोह्र वर्षको उमेरदेखि आरन पेसा सम्हाल्दै आएका लोहार ७५ वर्ष हुँदासम्म यही पेसामा सक्रिय छन् । परम्परागत रुपमा गर्दै आएको आरन पेसाबाट परिवारको खर्च धान्न समस्या भएको उनको भनाइ छ । यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि आधुनिक मेसिन र  बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने लोहारको माग छ ।

समाजले हेर्न दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ । युवाहरु पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित