काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघ र भौतिक यातायात तथा पूर्वाधार विकास मन्त्रालयद्वारा बिहीबार आयोजित ‘नेपाल पूर्वाधार सम्मेलन सम्मेलन, २०२४’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको स्पष्ट गरे । ‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो ।
यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ’, उनले भने, ‘यस प्रयासमा तीनै तहका सरकारसहित सबैको हातोमालो र सकारात्मक साथको अपेक्षा हामीले गरेका छौँ ।’प्रधानमन्त्री ओलीले कोभिड–१९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने अवगत गराए ।