काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठुलो परिघटना भएको बताएका छन् ।
शुक्रबारदेखि प्रसारण हुन जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरुले नेपालमा चलेको दश वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठुलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताएका हुन् ।
कतिपय शक्तिहरूले लाखौं जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए ।
इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उनले टेलिफिल्म ‘राधाकृष्ण’ले तत्कालीन सत्ता र बिद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौं जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका त्यस्तै पुर्याउने विश्वास व्यक्त गरे ।
नेसपाका अध्यक्ष डा. भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताको सबैभन्दा ठुलो परिघटना भएको औँल्याए । उनले भने, ‘सुगौली सन्धिअघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौं जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो । यो यस्तो परिघटना हो, जहाँ देशैभरि सबै तह तप्काका जनताले भाग लिए ।’
जनयुद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा. भट्टराईले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताए ।
कार्यक्रममा टेलिश्रृङ्खला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रबार साँझ प्रसारण हुने जानकारी दिए । कार्यक्रममा हास्यकलाकार जितु नेपाललगायतले शुभकामना दिएका थिए ।