ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स’का दुई विधामा सम्मानित
ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स’का दुई विधामा सम्मानित
    • बेल संचार

    • २७ भाद्र २०८१, बिहीबार

काठमाडाैं ।

ग्लोबल आईएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स– २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।

बिहीवार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आईएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्रयाएका नयाँ–नयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रमा बैंकले गरेको लगानी र बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् ।

यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई दोस्रोपटक बेस्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि याे बैंकले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– बेस्ट बैंक नेपाल’ प्राप्त गरेको थियो ।

यसअघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक अवार्ड २०२४ र बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १हजार १०० भन्दा बढी सेवा केन्द्र छन् । जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय रहेका छन् ।

‘बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा दिँदै आएको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित