काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नहुने बताएको छ । उपसभामुखले पदीय जिम्मेवारीविपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि उनलाई हटाउन नहुने माओवादीको तर्क छ ।माओवादीको संसदीय दलको आजको बैठकले लेटरहेड प्रयोगमा विचार पुर्याउनुपर्ने भए पनि अहिले एकाएक उनलाई हटाउने तयारीको समर्थन गर्न नसकिने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
‘उपसभामुख जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले लेटरहेड प्रयोग गर्दा विचार पुर्याउनैपर्ने थियो,’ पाण्डेले भने, ‘तर अहिले सत्तारुढ दलले एकाएक उपसभामुखलाई हटाउने तयारी गरेका छन् । यसैले हामीले सरकार सही बाटोमा छैन भन्ने निष्कर्ष निकालेका छौं ।’
अहिले सत्तारुढ दलले उठाएको विषय उचित नभएको भन्दै पाण्डेले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने बताए ।
‘सत्तारुढ दलले उपसभामुखलाई हटाउन खोजेको विषय बेठीक छ,’ पाण्डेले भने, ‘हामीले संसद्मा विरोध गरिसकेका छौं । उपसभामुखलाई हटाउन खोजे हामी प्रतिवाद गर्छौं ।’
विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपसभामुखले पदीय मर्यादाविपरीतको काम गरे पनि उनलाई हटाउन नहुने जिकिर गरेको छ ।
तर सत्तारुढ दलले पदीय मर्यादाविपरीतको काम गरेको भन्दै दुईतिहाइ मत पुर्याएर हटाउने बताउँदै आएका छन् ।