काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो ऊर्जा आवश्यकता रहकाले दुई देशबीचको ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउन यस भेटले सहयोग पुगेको बताए । उनले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत् आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाइनमा भारतीय पक्षको सहमति र विद्युत् व्यापारको शुरूआतलगायत विभिन्न महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त बैठक फलदायी हुनेमा विश्वास व्यक्त गरे ।
ऊर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने पनि उल्लेख गरे ।
भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत् खरिद सम्झौता गरेर नेपाल र बङ्गलादेशबीचको ऊर्जा सहकार्यलाई अगाडि बढाउन खोजेको बताए ।
भेटमा ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायतको उपस्थिति थियो ।