काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअर्चना गर्दै जीवित देवीकुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।
शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने उनको विश्वास छ ।
राष्ट्रपति पौडेलले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।