डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती गरे सुरु
डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती गरे सुरु
    • बेल संचार

    • ६ आश्विन २०८१, आईतवार

डोटी ।

डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।

वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।

प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए । “एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो  । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु गर्यौँ । अनलाइनका माध्यमबाट रु एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ”, उनले प्रारम्भिक योजनाबारे सुनाए।

दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ । एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिए । उनले भने, “अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।”

साताकाे चर्चित
सम्बन्धित