बागलुङ ।
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको हो।
ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चाटर्ड गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत यहाँ भ्रमण तथा अवलोकनमा आउने गरेका छन् । यसैलाई लक्षित गरी पर्यटन विभागले चालु आर्थिक वर्षमा सूचना केन्द्र निर्माण गर्न लागेको जनाइएको छ ।
यस कार्यमा सङ्घीय सांसद् देविप्रकाश भट्टचनले यहाँ भित्रिएका पर्यटकलाई धेरैभन्दा धेरै ठाउँमा पुर्याउन, यहाँको पहिचान, कला तथा संस्कृतिको विषयमा आवश्यक जानकारी दिन नगरपालिकाको मागअनुसार सूचना केन्द्र निर्माण योजना अगाडि बढेको बताए । नेपालकै एक मात्र सिकार आरक्ष भएकाले महङ्गो शुल्क तिरेर नाउर र झारलको सिकार गर्न यहाँ पर्यटक आउने गरेकाले उनीहरूको सहजताका लागि सूचना केन्द्र उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
ढोरपाटनमा आर्थिक वर्ष २०८०–८१ मा १५ हजार पाँच सय ७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका र त्यसबाट रु १९ लाख राजश्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिए । उनले पर्यटकलाई ढोरपाटन प्रवेशद्वार देउरालीमा केही जानकारी दिने गरिए पनि सूचना केन्द्र स्थापना भएमा थप प्रभावकारी हुने बताए ।