सुनसरी ।
सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनी भन्छन्, “दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिए । आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ”
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आकलन एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट रु दुई करोड ५० लाख बराबरको धान नोक्सानी भएको बताए। उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ ।”