दसैं पर्व सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव: प्रचण्ड
दसैं पर्व सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव: प्रचण्ड
    • बेल संचार

    • २७ आश्विन २०८१, आईतवार

काठमाडौं

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसैं पर्व विविधतापूर्ण विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत स्थापित भएको बताएका छन्।

विजया दशमीको शुभकामना दिँदै उनले देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी रहेको बताएका छन्।

‘हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक हुन्छ। यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ। तसर्थ, दशैं पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनर्मिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन म सबैमा अपिल गर्छु,’ उनले शुुभकामना सन्देशमा भनेका छन्।

दसैंको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त रहेको प्रचण्डको भनाइ छ।

‘असोजको दोस्रो साता आएको अविरल वर्षापछिको बाढीपहिरोबाट सयौँ नेपालीको ज्यान गएको छ, कैयन् मानिसहरू अहिले पनि बेपत्ता नै छन्। प्रकोपबाट अरबौंको भौतिक क्षति र जनसमुदायको जीवनमा अकल्पनीय पीडा थपिएको छ। तर, जतिसुकै पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को विकल्प छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भनेका छन्।

संकटको यस घडीमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकहरूका निम्ति पुनस्र्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनर्निर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

साताकाे चर्चित
सम्बन्धित