काठमाडौं ।
मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम छ । ‘काठमाडौंमा चिसो निरन्तर रुपमा बढिरहेको छ’, मौसमविद अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।’
महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सियस र सोमबार १६ डिग्रिसेल्सियस थियो । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको बताए ।
काठमाडौंसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।