काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजना अघि बढाउने बताएका छन् । उनले तत्काल बाढी प्रभावित क्षेत्रमा एकीकृत वस्ती विकास गर्दै पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने पनि बताएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षतिबारे जानकारी दिन आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । भेटवार्तामा सहभागी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले सीमित बजेटका बाबजुत् सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायतले बाढी पहिरोको विपत्तिपछि परेको संकटबारे बताएका थिए ।