राजविराज ।
राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो ।
कारागार आसपासका स्थानीयले जग्गामा घरटहरा बनाएका कारण जग्गा अतिक्रमणमा परेको जेलर प्रवीणकुमार अधिकारीले बताए। अतिक्रमित जग्गामा पक्की र फुसका गरी ८० वटा घर निर्माण भइसकेका छन् । अतिक्रमित जग्गा खाली गराउन कारागार प्रशासनले विभिन्न समयमा राजविराज नगरपालिका, कारागार विभाग र स्थानीय प्रशासनले विगत १० वर्षदेखि ‘अतिक्रमित जग्गा खाली गर्ने’ सम्बन्धी ३५ र १५ दिने सूचना पटकपटक जारी गरे पनि कार्यान्वयन हुन नसकेको उनले बताए ।
उनले भने, “एकातिर जीर्ण भवन अर्कातिर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी राख्नुपर्दा जोखिमसँगै निगरानी र व्यवस्थापन गर्न समस्या भएको छ ।” उनका अनुसार पुरानो, जीर्ण र साँघुरो कारागारमा चौब्बर कैदीबन्दी कोचिएर राखिएको छभने अर्कातिर अतिक्रमण, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी, जेनरेटर, इन्भर्टरलगायत भौतिक सामानसमेत अभाव छ ।