लामिछाने पक्राउको, सांसद पद भने हाललाई नजाने
लामिछाने पक्राउको, सांसद पद भने हाललाई नजाने
    • बेल संचार

    • ४ कार्तिक २०८१, आईतवार

काठमाडौँ

पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउको सूचना सभामुखलाई इमेलमार्फत दिइएको छ।

संघीय संसद नियमावली अनुसार कुनै पनि सांसद पक्राउ पर्नेवितिक्कै सोको सूचना प्रहरीले सभामुखमार्फत संसदलाई दिनुपर्छ।

उनी पक्राउ परेको सूचना प्राप्त भएकाले सोको सूचना संघीय संसदको सूचना पाटीका टाँस गर्न लागिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

तर, उनी पक्राउ परे पनि उनको प्रतिनिधि सभा सदस्य भने हाललाई यथावत रहन्छ। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा भने उनको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। त्यो बेला भने संसदलाई कुनै औपचारिक सूचना दिइरहनु पर्दैन।

शुक्रबार साँझ रास्वपा सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य लामिछाने पक्राउ परेपछि प्रहरीले इमेलमार्फत जानकारी पठाएको सभामुखको सचिवालयले जनाएको छ।

सदन चलेका बेला संसद बैठकमै प्रस्तुत गरिने उक्त जानकारी सदन नचलेका बेला सूचना पाटीमा टाँस्ने परिपाटी छ। शनिवार विदा रहेको भए पनि यस्तो बेलामा ढिला नगरी सूचना टाँस गर्ने काम गरिने सचिवालयले जानकारी दिएको छ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा पुर्याइसकेको छ। उनलाई आइतबार अदालतमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित