असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर
असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर
    • बेल संचार

    • ७ कार्तिक २०८१, बुधबार

गलेश्वर।

आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ।

कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन्। असिनापानीले धान बालीमा क्षति पुर्‍याएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छन् ।

असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटमा पुर्‍याएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए। ‘अहिले हामी क्षतिको विवरण सङ्कलन गर्न किसानका खेतखेतमा पुगेका छौँ, अधिकांश ठाउँमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ, किसानहरु अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन्, केही दिनभित्र क्षतिको पूरै विवरण सङ्कलन हुन्छ’, वडाअध्यक्ष कार्कीले भने ।

असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका बेनी नगरपालिका–२ का वडा सदस्यसमेत रहनुभएका चन्द्रकान्त रिजालले बताए । उनका अनुसार असिनाले खेतमा रहेको धानको ८० प्रतिशत दाना झारेर नष्ट गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित