काठमाडौँ ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुर्याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।
फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।
गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।
अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।
नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।