शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान तथा आर्थिक सहयोग वितरण
शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदान प्रदान तथा आर्थिक सहयोग वितरण
    • शर्मिला विश्वकर्मा

    • १४ कार्तिक २०८१, बुधबार

काठमाडौँ

स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ शाखाले मङ्गलवार काठमाडौँमा शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को अवसरमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गर्नुका साथै आर्थिक सहयोग वितरण र देउसी भौलो कार्यक्रमको गरेको छ । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत प्रमुख अतिथि रहनु भएको सो कार्यक्रमलाई उहाँले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भयो ।

यसै क्रममा उहाँले कुनै पनि नागरिकहरूले अरूको अधिकार हनन गर्ने कार्यहरू गर्न नहुने भन्दै कानुन सबैका लागि बराबर हुने, सकारात्मक सोच राखेर काम गर्नु पर्ने, युवाहरूलाई देशमा नै अवसरको सुनिश्चितता गराउन सकिने बताउनु भयो । यसै क्रममा उहाँले नेपालमा कक्षा १२ को अध्ययन पश्चात् युवाहरू बिदेसिने प्रविधिलाई राज्य स्तरबाट नै नेपालमा रोजगारीको वा कुनै पनि अवसरको व्यवस्था गरेर रोक्नु पर्ने, प्रविधिलाई प्रभाकारी बनाउनु पर्ने भन्दै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्नु भयो ।

साथै उहाँले देउसी भैलोको लागि रु १० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गर्नु भयो । उक्त शुभकामना आदान प्रदान कार्यक्रममा आयोजक संस्था स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ जिल्ला शाखाकी उपाध्यक्ष सावित्री बस्नेत (सबु) सहभागी सबैलाई स्वागत गर्दै, आपत् विपतमा परेका व्यक्तिहरूलाई सबैले आ-आफ्नो तर्फबाट सकेको सहयोग गर्नु पर्ने भन्दै शुभदिपावली, छठ पर्व र नेपाल संवादको शुभकामना व्यक्त गर्नु भयो ।

शुभकामना आदान प्रदान कार्यक्रमका विशेष अतिथि एवं विनायक अस्पतालका सञ्चालक तथा भरत फाउन्डेसनका अध्यक्ष के.वी. लामिछानेले स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ जिल्ला शाखाले स्वतन्त्र रूपमा पत्रकारिता गर्नुका साथै विभिन्न समयमा आपत् विपतमा परेका नागरिकहरूको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्य गर्नको लागि अगाडी बढ्न आग्रह गर्दै सबैले विपत् तथा अन्य समस्यामा परेका नागरिकहरूका लागि सक्दो सहयोग गर्न आग्रह गर्नु भयो ।

यसै क्रममा उहाँले युवाहरूलाई आफ्नै देशमा टिकाउनका लागि नेपालमा नै रोजगारको व्यवस्था गर्नु पर्ने, उधोगधन्दाहरु सञ्चालन गर्नका लागि सरकारको ध्यान केन्द्रित हुनु पर्ने भन्दै स्वतन्त्र पत्रकारहरू र आपत् विपतमा परेका व्यक्तिहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्नु भयो । यसै क्रममा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाकी कार्य समिति सदस्य रिना श्रेष्ठले स्वतन्त्र पत्रकार संघ नेपाल र यसका शाखाहरूले जनताका लागि राम्रो काम गर्दै आएको र अबका दिनमा महिला पत्रकारहरू, अपाङ्गता भएका महिला सञ्चारकर्मीहरूले आर्थिक, सामाजिक चुनौतीहरूको सामना गर्न परेको अवस्थामा यस्ता चुनौतीहरूको समाधान हुने, उनीहरूको क्षमता विकास, नेतृत्व विकास लगायतका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्दै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्नु भयो । त्यसै गरी समाज सेवी तथा व्यवसायी रुद्र जोशीले कुनै पनि सञ्चारकर्मीले निष्पक्ष रूपमा सत्य तथ्यमा आधारित भएर समाचार संप्रेष गर्नु पर्ने भन्दै नेपालको जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्ने वातावरण सरकारले मिलाउनु पर्ने र सबै नागरिकहरूमा सहयोगीको भावना पनि जागृत हुनु पर्ने भन्दै नेपालीहरूको पर्व शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्नु भयो ।

साथै उहाँले यस संस्थाले विभिन्न समयमा विपतमा पर्दै आएका व्यक्तिहरूलाई गरेको सहयोगको सरना गर्दै देउसी भौलो स्वरूप रु २ हजार रुपैयाँ प्रदान गर्नु भयो । उक्त कार्यक्रममा ICT पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले पत्रकारिता गरिरहँदा यसलाई चुस्त, दुरुस्त बनाउनका लागि प्रविधिको विकासलाई आत्मसाथ गरेर काम गर्न सकेमा उक्त पत्रकारिता प्रभावकारी हुने बताउनु भयो । त्यसै गरी उहाँले समाज र जनता प्रति पत्रकार गम्भीर हुनु पर्ने, प्रविधिका विषयमा पत्रकारहरूलाई विभिन्न ज्ञान तथा सीप प्रदान गरिनु पर्ने भन्दै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्नु भयो ।

यसै क्रममा आयोजक संस्था स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौँ शाखाका अध्यक्ष तथा उक्त कार्यक्रमका सभापति पुष्करराज पाण्डेले यस संस्थाले निस्वार्थ रूपमा जनताका आवाजहरूलाई, सवालहरूलाई सञ्चार माध्यम मार्फत उजागर गरेको, विभिन्न समयमा आउने विपतमा परेका नागिरकहरुको राहतका लागि सहयोगी निकायहरू, व्यक्तिहरू, समाजसेवीहरूसँग हातेमालो गर्दै आर्थिक, सामाजिक रूपमा पनि सहयोग गर्दै आएको बताउनु भयो ।

साथै उहाँले स्वतन्त्र पत्रकारहरूका लागि राज्य स्तरबाट उनीहरूको पहिचान, कार्य तथा क्षमता विकास लगायतका चुनौतीहरूको समाधान गरी सत्य, तथ्य, र निष्पक्ष रूपमा पत्रकारिता गर्न सक्ने वातावरण सृजना गरी प्रभावकारी कार्यक्रम सञ्चालन गरिदिनु पर्ने बताउँदै, गत असोज १२ गते आएको बाढी पहिरोले विपतमा परेका नागरिकहरूका लागि आर्थिक सहयोग सङ्कलन गरी वितरण गरिने कुरामा जोड दिँदै शुभदिपावली, छठ पर्व तथा नेपाल संवत् ११४५ को शुभकामना व्यक्त गर्नु भयो । सो कार्यक्रममा स्वतन्त्र पत्रकारहरू, समाज सेवी, जनप्रतिनिधि र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित