सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिकाको सवाल समेट्नुपर्ने
सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिकाको सवाल समेट्नुपर्ने
    • बेल संचार

    • १५ कार्तिक २०८१, बिहीबार

 काठमाडौँ,

सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिकाको सवाल समेट्न नसकेको भन्दै सरोकारवालाले आवाज उठाएका छन् । बालबालिका शान्ति क्षेत्र अभियान (सिजप)द्वारा बुधवार राजधानीमा आयोजित कार्यक्रममा सामाजिक सञ्जालमार्फत सबैभन्दा धेरै पीडित बालबालिका भइरहेको तर मन्त्री परिषद्मा विचाराधिन “सामाजिक सञ्जाल नियमन विधेयकमा बालबालिका सम्वन्धी सवाल नसमेटिएको सहभागीहरुले बताएका हुन् ।

बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष मिना शर्माले प्रविधिको पहुँचका कारण बालबालिका पनि सामाजिक सञ्जालमा छन्, ठीक/बेठिक छुट्याउन नसक्ने उमेरका कारण उनीहरु प्रविधीको दुरुपयोगले बालबालिका दुर्व्यवहारमा परिरहेका छन् भन्दै सो विधेयकबारेमा बालअधिकारको दृष्टिले छलफल गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा अध्यापक आनन्दराज खनालले “सामाजिक सञ्जाल नियमन विधेयक” सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्दै प्रविधीको उपयोगको फराकिलो परिभाषा र प्राविधिक पक्षको अध्ययनविना नै सो विधेयक तयार पारेको बताउनुभयो ।

उहाँले हाल नेपालका सबै बालबालिका इन्टरनेट र मोवाइल फोनको पहुँच कारण सञ्जाल चलाइरहेका छन्, भने सामाजिक सञ्जालमाफृत नै उनीहरुमाथि हुने दुर्व्यवहार विरुद्ध कार्वाहीको सम्वन्धमा विधेयक मौन रहेको र कतै पनि बालबालिका शब्द समेत नपरेको दावी गर्नुभयो ।

अध्यापक खनालले सो विधेयक धेरै अर्थमा अधुरो रहेकोले परिमार्जनको आवश्यक छ भन्दै राज्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन्का लागि मात्र तयार गरिएको विधेयकमा समेटिएको बुँदाले जनाउने बताउनुभयो । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी टंक पन्तले प्रविधीको उपयोग तथा दुरुपयोग दुवै काम हुने र सरकारले दुरुपयोगको नियमनका लागि भन्दै तयार गरिएको विधेयकबारे अझै प्रभावकारी ढङ्गले छलफल गर्न सकिने ठाउँ रहेको बताउनुभयो । आसमान नेपालका कार्यक्रम व्यवस्थापक मणिराम आचार्यले सो विधेयकले बालबालिकाप्रति प्रविधीको दुरुपयोग गरी हुने हिंसाको न्युनिकरणका सवाल समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

साताकाे चर्चित
सम्बन्धित