नवलपरासी ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका छन् ।
लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्याकको माग गर्ने भएकाले उनको दैनिकी र्याक बनाउनमै बित्छ ।
र्याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए । सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए । सुरुमा रु १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्याक बनाउन सकिन्छ ।