विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उहाँले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका छन् ।
घरवरिपरि मौरीका घारैघार छन् । बिहान उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने उनको दिनचर्या हो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमा बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिना बनेका छन् ।
सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति आम्दानी हुने गरेको बताए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमुना मौरीपालक किसान बनेका छन् ।
उत्पादित मह धेरै मात्रामा घरबाट बिक्री हुने गरेको बताउँदै तिमिल्सिनाले काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको जानकारी दिए । ‘कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटबललगायत क्षेत्रबाट पनि व्यवसायीहरू घरमा आएर खरिद गरी लैजाने गरेका छन्’, उनले भने ।
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए। उनले महमात्र होइन, मौरीको घार र गोलासमेत बिक्री गर्दै आएका छन् । मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाख रुपैयाँभन्दा आम्दानी गर्छन् । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् ।
मौरीसहितका घार प्रतिगोटा १० हजार र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।
मौरीपालनमा अन्य पेसा जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने, आम्दानी भने उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अगुवा किसान उमाकान्त शर्माले बताए ।
उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।