चितवन ।
चितवनको भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाई संरक्षण गर्न एक करोड एक लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।
केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।
अक्षयकोषका लागि ११ हजार एक सय रुपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रुपैयाँको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र ३२५ जना आजीवन सदस्य छन् ।
विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाख रुपैयाँभन्दा बढी संकलन भएको गौ संरक्षण केन्द्रका संयोजक ढकालले जानकारी दिए ।
गौ संरक्षण केन्द्रले २५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।
दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन् । योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन् । केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ ।