जुम्ला ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन सुरु गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए ।
गत वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्ता हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छिन् । उनी हाल दोस्रो वर्षमा अध्ययनरत छिन् । एमबीबीएस अध्ययन गर्न रु ४६ लाख लाग्नेमा गाउँपालिकाले रु २३ लाख प्रिन्सालाई छात्रवृत्ति बापत प्रदान गरेको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।