मन्त्री प्रदीप यादव : मधेसको सांस्कृतिक धरोहर कुस्तीलाई संरक्षण गर्नुपर्ने जोड
मन्त्री प्रदीप यादव : मधेसको सांस्कृतिक धरोहर कुस्तीलाई संरक्षण गर्नुपर्ने जोड
    • बेल संचार

    • २३ कार्तिक २०८१, शुक्रबार

पर्सा ।

खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएकाले यस खेललाई संरक्षण गर्नुपर्ने बताएका छन् ।

वीरगञ्जमा आयोजित विराट कुस्ती प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै खानेपानी मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको भन्दै साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भुत मञ्च समेत भएको बताए ।

‘कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ,’ मन्त्री यादवले भने, ‘कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यस्ता प्रतियोगिताहरूले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्‍याउँछ ।

’वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा आयोजित कुस्ती प्रतियोगितामा पर्सा, बारा, रौतहटलगायतका भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूले सहभागी छन् । कार्यक्रममा सहभागी रहेका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कुस्ती प्रतियोगिताजस्तो खेल आयोजनाले महानगरको खेलकुद क्षेत्रमा ठुलो योगदान पुर्‍याएको बताए ।

साताकाे चर्चित
सम्बन्धित