सिमकोट ।
हुम्लाका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो ।
नेपाल एयरलाइन्सले हप्तामा सोमबार र मङ्गलबार उडान गर्ने गरेका छ । बिहानैदेखि विमानस्थलमा लाइन लागे पनि टिकट पाउन मुस्किल भएको सर्वसाधरणको गुनासो छ ।
विमानस्थलमा भेटिनुभएका सिमकोट गाउँपालिका–८ का जय कामीले छोरीको दुवै मृगौला फेल भएर उपचारका लागि बाहिर जिल्ला जान टिकटको खोजी गरिरहेको भन्दै बिरामीको मात्रै टिकट पाइएको गुनासो पोख्नुभयो । जिल्ला अस्पतालले ‘रिफर’ गरेको कागज पेस गरेपछि मुस्किलले एउटा मात्र टिकट पाइएको उनले बताए ।
नेपाल एयरलाइन्सले सातामा दुई दिन हुने उडानमा चार जना जटिल समस्या भएका बिरामीलाई पहिलो प्राथमिकता दिएर टिकट उपलब्ध गराएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।
पाल्पामा कृषि प्राविधिक विषय अध्ययन गर्दै आउनुभएका सिमकोट–२ ठेहेका सन्देश बोहराले अन्तिम परीक्षा दिन जानुपर्नेमा टिकट नपाउँदा समस्या भएको बताए। सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई सास्ती हुने गरेको छ ।