सुर्खेत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुशी व्यक्त गरे। ‘यति मात्र होइन, राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया शुरू भइसकेको छ’, प्रधानमन्त्री ओलीले थपे ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक थप सेवा सुविधामा उपलब्ध सरकार प्रतिबद्ध रहेको बताए । प्रतिष्ठानको परिकल्पनादेखि नै आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन गराएको प्रधानमन्त्री ओलीले स्मरण गरे ।
‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरूको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्नुहुने मैले विश्वास लिएको छु । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस्’, प्रधानमन्त्री ओलीले भने ।
समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।