राष्ट्रपति : नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो
राष्ट्रपति : नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत हो
    • बेल संचार

    • २ मंसिर २०८१, आईतवार

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् ।

ब्रह्माकुमारी ज्ञान सरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताए ।

राष्ट्रपति पौडेलले भने– ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ । आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेका यही कारण हो ।’

उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण  समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताएका छन् । राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले ज्ञान सरोवर एकेडेमीमा बनेका चार धामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताए । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्दत पुग्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित