उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी
उपनिर्वाचनका ४१० उम्मेदवारमध्ये २ जनाविरुद्ध मात्र उजुरी
    • बेल संचार

    • ४ मंसिर २०८१, मंगलवार

काठमाडौं ।

मंसिर १६ गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध दुई वटा मात्र उजुरी परेको छ । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो ।

तर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा मात्र दुईवटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध मात्र उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ ।

आयोगको तालिका अनुसार आज साँझ ५ बजेसम्म उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय छ । त्यसपछि ६ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशित हुने छ ।

त्यसपछि मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । सोही दिन अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका निर्वाचन आयोग छ ।

मतदान भने मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

साताकाे चर्चित
सम्बन्धित