म्याग्दी ।
विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन् ।
जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ ।
दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए । मङ्सिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उनले रु दुई लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिए ।
दुई रोपनी जग्गामा उनको नर्सरी फैलिएको छ । “बीउ र मलमा रु ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ । एकै सिजनमा रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्न सफल भएको छु”, कार्कीले भने ।