प्रधानमन्त्रीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
प्रधानमन्त्रीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
    • बेल संचार

    • ११ मंसिर २०८१, मंगलवार

काठमाडाैं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका विषयमा कुरा गरिएको नेकपाले जनाएको छ । प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरिएको नेकपा नेताहरूले बताएका छन्  । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणको शुभकामना पनि दिएका छन् ।

भेटमा नेताहरूले देशको स्थिति जटिल बन्दै गएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बताएका थिए । भेटमा यसअघि नेकपासँग गरिएको तीन बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न र  तीन बुँदे सहमतिपछि पनि गिरफ्तार गरिएका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरिएको नेताहरूले बताएका छन् ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको बताउँदै छिट्टै टुङ्गोमा पुर्‍याउने जवाफ दिएका थिए । भेटवार्तामा नेकपा एमाले र नेकपाबीचको छलफल र सहकार्यलाई अघि बढाउने विषयमा समेत कुराकानी भएको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित