काठमाडौं
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो ।
बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं, उक्त कार्यक्रममा पोखरेलले भन्नुभयो ।
शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक जोडिनुभएकोमा बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । हाम्रो उपाधि जित्ने लक्ष्यमा ग्लोबल आइएमई बैंकको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौं, शाहले भन्नुभयो ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुनहुन्छ । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।