बौद्धिक अपाङ्गता सम्बन्धी मिडिया अनुगमन कार्यशाला (भिडियो सहित)
बौद्धिक अपाङ्गता सम्बन्धी मिडिया अनुगमन कार्यशाला (भिडियो सहित)
    • शर्मिला विश्वकर्मा

    • १९ मंसिर २०८१, बुधबार

 काठमाडौँ

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरू प्रकाशितका क्रममा के कति कुराहरू नमिलेको, सभ्य भाषाहरूको प्रयोग नगरिएको कतिपय अवस्थामा अपाङ्गतालाई कमजोरीको रूपमा हेरिएको लगायतका सवालहरूलाई समावेश गरी गरिएको मिडिया अनुगमनका विषयमा काठमाडौँमा कार्यशाला गरेको छ ।

सो कार्यक्रममा आयोजक संस्था बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले यस संस्थाले सञ्चार क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका सवाल र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको अवस्था सम्बन्धी अनुगम गरेको अपाङ्गता विषयमा प्रकाशित समाचारमा सञ्चारकर्मीहरूले अपाङ्गतामैत्री शब्दावली प्रयोग नगरिदिँदा यस विषयमा सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

यस कार्यक्रममा काठमाडौँ ल्याबका विष्णु विडारीले “मानव अधिकार र अपाङ्गतामैत्री सञ्चार नीतिको दृष्टिकोणबाट राष्ट्रिय स्तरको मिडियामा प्रकाशित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी समाचार रिपोर्ट” सार्वजनिक गर्दै बौद्धिक अपाङ्गता सम्बन्धी मिडिया अनुगमनको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । यसै प्रस्तुतिका क्रममा उहाँले मिडिया अनुगमनका क्रममा ४० प्रतिशत शब्द वा भाषाहरूमा बौद्धिक अपाङ्गतालाई होच्याएर लेखिने र ६० प्रतिशत सही शब्द प्रयोग गरिएको, ५३ प्रतिशत दयामुखी रूपमा लेखिने र ४७ प्रतिशत अधिकारमुखी रूपमा लेखिने गरेको पाइएको बताउनु भयो ।

त्यसै गरी उनीहरूको शिक्षामा ४२ प्रतिशत, रोजगारी र पुनर्स्थापनामा २ प्रतिशत, यौन हिंसा र जनचेतनाका विषयमा २१ प्रतिशतमा समाचार, लेख, रचनाहरू प्रकाशित हुने गरेको पाइएको बताउनु भयो । यस कार्यशालामा नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनालले अपाङ्गता भएका व्यक्तिले पनि शिक्षा, सीपको अवसर पाएको खण्डमा अन्य व्यक्तिहरू सरह काम गर्न सक्ने भन्दै उनीहरूलाई अपाङ्गताकै कारण फरक देख्न नहुने बताउनु भयो साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई सभ्य भाषा तथा सम्मानजनक शब्दले सम्बोधन गर्दै र लेख्न, रचना तथा समाचारहरू लेखि प्रकाशन गर्न आग्रह गर्नुभयो । स्वावलम्बन जीवन पद्ती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गताको क्षेत्रमा अहिले भएका उपलब्धिमा विभिन्न सञ्चारमाध्यमहरूको विशेष साथ सहयोग रहेको बताउनु भयो ।

सञ्चारकर्मीहरूलाई अपाङ्गता प्रति अझै संवेदनशील बनाउनका लागि सबै निकायहरूले विभिन्न समयमा सचेतना मूलक कार्यक्रमहरूको आयोजना गरिनु पर्ने कुरामा जोड दिनु भयो । यसै क्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघका निवर्तमान अध्यक्ष किरण शिल्पकारले सञ्चार माध्यमहरू र सञ्चारकर्मीहरूको साथ सहयोगले अपाङ्गता क्षेत्रमा विगतको तुलनामा अहिले धेरै भन्दा धेरै राम्रा अभ्यास र प्रयास भइरहेको भन्दै अपाङ्गता अधिकारको सवालसँगै अपाङ्गता सञ्चार संहिता र शब्दावलीबारे पनि बुझाउँदै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित