काठमाडौँ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तक्र्रिया कार्यक्रमपछि उनले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताए ।
“बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भने । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उनको भनाइ थियो ।
मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गरे । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्छ”, उनले भने, “क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेका छन् ।
” निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक देखिएको मन्त्रीले बताए । पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएको हुँदा टिकट प्रणालीलाई एकद्वार गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले चितवन निकुञ्ज भ्रमणमा आएका पर्यटक पर्सा पनि आउने र पर्सा निकुञ्ज घुम्न आएका पर्यटक चितवन निकुञ्ज पनि भ्रमण गर्न सकिने धारणा राखे ।
वन क्षेत्रभित्र ढलेका र सडेगलेका काठलाई प्रयोगमा ल्याउन र आयात हुने काठलाई रोक्न मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ ।