काठमाडौं ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त र निजी क्षेत्रमा लगानीलगायत विषयमा छलफल भएको हो ।
अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए ।
अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको उनले जानकारी गराएका थिए ।