सरकारले गलत गतिविधि नसच्याए सडकबाट आन्दोलन अघि बढाउने : अध्यक्ष प्रचण्ड
सरकारले गलत गतिविधि नसच्याए सडकबाट आन्दोलन अघि बढाउने : अध्यक्ष प्रचण्ड
    • बेल संचार

    • २५ मंसिर २०८१, मंगलवार

चितवन ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । मंगलबार चितवनको भरतपुरमा आयोजित  खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई रोक्ने होइन भने संसद्को विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए । राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै उनले यस्ता हर्कत स्वीकार्य नहुने बताए । आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरू सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए ।

अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस र एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए । आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए ।

उनले भने, ‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठुला सहकारी ठग छन् । तिनै नाटकबाजहरुलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ ।’ रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनले बताए ।

 

साताकाे चर्चित
सम्बन्धित