हिमा २ बालविवाहमुक्त वडा घोषणा
हिमा २ बालविवाहमुक्त वडा घोषणा
    • उमेश बुढा

    • २९ मंसिर २०८१, शनिबार

जुम्ला

हिमा गाउँपालिका वडा नम्बर २ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो।

अशिक्षाका कारण अघिल्लो समय बालविवाह हुने गरेकोमा हाल प्रविधिको दुरुपयोगका कारण बालविवाह हुने गरेको तथ्य बाहिर आएको छ। बालविवाहले महिलाको स्वास्थ्य, शिक्षा, र रोजगारीका क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ।

हिमा गाउँपालिकाको महिला तथा बालबालिका शाखाका अनुसार, परामर्श, छलफल, र दण्डात्मक कारबाहीमार्फत वडामा बालविवाह रोक्न अभियान सञ्चालन गरिएको छ।

वडा नम्बर २ का अध्यक्ष हरी बहादुर रोकायाले भने, “हामीले अहिले बालविवाह अपराध हो भन्ने सन्देश प्रवाह गरेका छौँ। बालविवाह गर्नेलाई गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाबाट वञ्चित गर्ने र विवाह बहिष्कार गर्ने संस्कार विकास गरेका छौँ।” यसको लागि सातवटै वडामा बालक्लबहरू गठन गरिएको जानकारी दिइएको छ।

हिमा गाउँपालिकाको महिला तथा बालबालिका शाखाले साझेदारी संस्थासँगको सहयोगमा वडालाई बालविवाहमुक्त बनाउन सफल भएको हो।

गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भने, “यसअघि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, र पत्रकारहरूको टोलीले अनुगमन गरे। अन्य वडाहरूलाई क्रमिक रूपमा बालविवाहमुक्त वडा घोषणा गर्दै गाउँपालिका घोषणा गर्ने तयारीमा छौँ।”

पछिल्लो समयमा प्रविधिको दुरुपयोग र अभिभावकको कमी भएको निगरानीका कारण जुम्लामा बालविवाहको समस्या बढेको देखिएको छ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाकी पूर्व उपाध्यक्ष दिलमाया शाहीले बालविवाह रोकिएको खण्डमा सभ्य र समृद्ध जिल्ला निर्माण हुने धारणा राखिन्। हिमामा २० वर्षमुनि विवाह गर्ने दर शून्यमा झरेको उनले बताइन्।

मुलुकी अपराध संहिता, २०७४ अनुसार २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने व्यवस्था छ। उक्त ऐनमा तोकिएको उमेर नपुगी भएको विवाह स्वतः बदर हुने र दोषीलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

जुम्लाका अधिकांश वडाले बालविवाहमुक्त वडा घोषणा गरे पनि बालविवाह रोकिएको अवस्था छैन। तर, हिमा गाउँपालिकाले घोषणा गरेका वडाहरूमा बालविवाह रोकिएको छ कि छैन भनी समय-समयमा अनुगमन गरी यसलाई शून्यमा झार्नका लागि हिमाको स्थानीय सरकार लागिपरेको छ। साथै, बालविवाहका असरबारे सचेतना अभियान पनि सञ्चालन गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित